३३ केजी सुन तस्करी प्रकरणः पाँच न्यायाधिशमाथि कारबाही सिफारिस

काठमाण्डु टुडे २०७६ असार ४ गते ७:५७ मा प्रकाशित

काठमाण्डु, ४ असार– साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ ।

उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । ‘प्रतिवेदनको पोको खोलियो । अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ । तीन जनालाई स्पष्टीकरण सोधेर केही न केही गर्नुपर्ने देखिएको छ,’ परिषद्का एक पदाधिकारीले भने, ‘एकजनालाई सचेत गर्नुपर्ने हुनसक्छ ।’

छानबिन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार न्यायपरिषद् बैठक बसेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशनअनुरूप पदाधिकारी बैठक डाकिएको हो । न्यायाधीश छानबिनका लागि न्याय परिषद्ले गत चैत २५ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो । चालिसे समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us