
काठमाण्डु, ३ असार – समाजवादी नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सो प्रतिक्रिया दिएका हुन् ।
उनले प्रतिनिधिसभा जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो भएकाले प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनताको अभिमतको दुरुपयोग भएको भन्दै घटनाको भत्र्सना गरे ।
उनले भने, ‘गैहजिम्मेवार व्यवहार ठान्दछु म सत्तापक्ष प्रतिपक्ष दुवैको । प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेल फाल्नु जनताको अभिमतको दुरुपयोग हो । र मचाहीँ यसको तिब्र भत्र्सना गर्दछु ।’
त्यस्तै, राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताए । उनले विपक्षी दलले समय मागेपछि उपलब्ध गराईनुपर्ने बताए । प्रमुख प्रतिपक्षी दलले ढ्यापढ्याप गरिसकेपछि सभामुखले उसको कुरा सुन्नुपर्ने तर्क उनले गरे । संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने भन्दै उनले संसद सधै ‘प्रतिपक्षी दलको हो ’भन्ने मान्यतालाई पनि नबिर्सन आग्रह गरे ।
उनले भने, ‘प्रतिपक्षीले ढ्यापढ्याप गरेपछि किन ढ्यापढ्याप गरे भनेर त्यो कुरा सभामुखले सुन्नुपथ्र्यो, नसुनेको कारणले गर्दा संसदको अवस्था यस्तो भयो । रोष्टम घेरियो । स्थगित पनि भो । प्रधानमन्त्रीले मात्रै बोल्ने संसदीय अभ्यास होइन । कुनै बेला दमन ढुंगानाले संसद प्रतिपक्षीको हो भन्ने पनि रुलिङ गरेका थिए । त्यसलाई पनि हामीले आफ्नो परम्परामा लिनुपर्छ । बोलिसकेपछि के हो त्यो जवाफ दिने सयम प्रधानमन्त्रीलाई छँदै थियो नि । प्रतिपक्षीको आवाजलाई कुण्ठित गर्नु हुँदैन ।’