
भक्तपुर, ३ असार – सूर्यविनायक नगरपालिका–९, नलिनचोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।
जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प १२६६ नम्बरको स्कुटरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । मृतक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ का स्थानीय हुन् ।
उनी हाल भक्तपुर सुर्यविनायक–८ सिपाडोलमा बस्दै आएका थिए । घटनामा घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।