ओमनले नेपाली डाक्टर र नर्स माग्यो

काठमाण्डु टुडे २०७६ असार ३ गते १३:३१ मा प्रकाशित

ओमन, ३ असार – ओमनले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ ।

ओमनस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमनका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले यस्तो प्रस्ताव गरेका हुन् ।

‘नेपाली डाक्टर र नर्सलाई ओमनलाई चाहिएको छ,’ भेटमा मन्त्री सादीले राजदुत पराजुलीसमक्ष भने, ‘त्यसका लागि राजदुताबासले आवश्यक सहयोग गर्नु पर्यो ।’

‘नेपालबाट पनि डाक्टर र नर्सहरु ओमनमा ल्याउनुपर्छ,’ मन्त्री सादीले भने, ‘नेपाल पनि ओमनका लागि स्रोत देश बन्न सक्छ ।’ अहिले ओमनले भारत लगायतका देशहरुबाट डाक्टर र नर्स लैजाने गरेको छ ।

साथै भेटमा मन्त्री सादीले नेपाल र ओमनसँग स्वास्थ्य क्षेत्रबाट पनि सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

‘हामी देशका स्वास्थ्य र त्यसका प्रविधि साटासाट र अनुभव पनि आदानप्रदान गर्न सक्छौं,’ भेटमा मन्त्री सादी भने ।

जवाफमा राजदुत पराजुलीले जिटुजी मार्फत नेपाली डाक्टर र नर्सहरु ओमन ल्याउन सकिने बताइएकी थिइन् । नेपाल र ओमनबीच छिट्टै श्रम समझदारी हुदैँछ । कतिपय विषय त्यसमा नै समेट्न पनि सकिने राजदुत पराजुलीले बताएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us