
काठमाण्डु, १ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् ।
आइतबार बिहान ८ दिने युरोप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।
‘म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परतामा कुनै कुराले कहीँ पनि जानेररनजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ,’ उनले भने ।
गुठीका गरिबमाथि शोषण भइराखेको उनले बताए ।
‘कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइराखेको छ,’ प्रधानमन्त्रीले भने, ‘साँस्कृतिक धरोहरसँग जोडिएका ठाउँमा कतै धक्का लागेको रहेछ भने सरकारले विचार गर्छ ।’
उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे ।
‘केही मान्छेले खुबै मौका पायौं भनेका होला कुनै चान्स छैन,’ उनले भने, ‘यो सरकारले जनताका हितमा काम गर्छ ।’
उनले जनताको भावना र हितविपरीत हुने कुनै पनि कुरा सरकारले नगर्ने पनि बताए । जनतालाई देवता मान्ने, सर्वोपरी मान्ने हित र आदेशअनुसार काम उनको भनाइ छ ।
‘जनताप्रति सरकार उत्तरदायी छ । जनताका कुरा सुन्छ । जनताका हितमा काम गर्छ,’ उनले भने, ‘जनता नै सार्वभौम भएकोले अब आन्दोलन गरिराख्नुपर्दैन ।’
उनले कुनै पनि कुरा शतप्रतिशत नहुने भन्दै सरोकारवाला पक्षले कहाँनेर कमजोरी भयो औल्याउनुपर्ने बताए। ‘जनता भड्काउन सकिँदैन जनता के कारणले भड्कन्छ ?,’ उनले भने ।
उनले आफ्नो नेतृत्वको सरकार जनताको मन हसाउन बनेको बताए । ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन हँसाउन हो,’ उनले भने ।
प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए ।
उनी गत जेठ २५ गते भ्रमणमा गएका थिए।प्रधानमन्त्रीकोलाई विमानस्थलमा स्वागत गर्न उपप्रधानमन्त्री ईश्व पोखरेल, सभामुख कृष्णबहादुर महरा,नेकपाका नेताहरुलगायत पुगेका थिए ।