
ठमाण्डु, १ असार – साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आज विहान १० बजे स्वदेश आइपुगेका हुन् ।
उनलाई स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पोखरेल लगायत विमानस्थल पुगेका थिए । फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली जेनेभा हुँदै त्यहाँबाट हिजो काठमाण्डु प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले साताव्यापी भ्रमणका क्रममा स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका छन् । शनिबार जेनेभामा नेपालका राजदूतलगायत अन्य उच्च पदाधिकारीहरुसँग अनौपचारिक छलफल गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीले २७ गते जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए ।
समारोहपछि सोही दिन बेलायत प्रस्थान गरेका प्रधानमन्त्री ओलीले त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रमलाई स्म्बोधन गरेका थिए । बेलायतमा रहँदा समकक्षी टेरेजा मे र राजकुमार चार्ल्ससँग पनि उनले भेटवार्ता गरेका थिए । बेलायतको तीन दिने भ्रमण सकेर २९ गते फ्रान्स पुगेका प्रधानमन्त्री ओली विभिन्न औपचारिक कार्यक्रममा सहभागी भए । उनले फ्रान्सका समकक्षी एडवर्ड फिलिपेसँग भेटवार्ता गरी द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए ।