गणतान्त्रिक आन्दोलनको योद्धा गुमायौंः गृहमन्त्री

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १२:४३ मा प्रकाशित

चितवन, ३१ जेठ – नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री धनिराम पौडेलको निधनले नेपालको गणतान्त्रिक आन्दोलनको एक योद्धा गुमाएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

नेपालको गणतन्त्र स्थापनामा पौडेलको महत्वपूर्ण योगदान रहेको बताउँदै गृहमन्त्रीले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पुर्‍याएका योगदान अतुलनीय रहेको बताएका थिए ।

पञ्चायतकालदेखि संघीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पुर्‍याएको थापाको भनाइ थियो । नेपाल सरकारको शिक्षामन्त्रीका रूपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए ।

नेपाली समस्त आन्दोलनका एउटा नेताको संज्ञा दिँदै मन्त्री थापाले पौडेलको निधनबाट सिंगो पार्टीमा क्षति पुगेको बताए । पौडेलको ५३ वर्षको उमेरमा शुक्बार बिहान माडीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको थियो ।

पौडेललाई अन्तिम श्रद्धाञ्जली दिनका लागि गृहमन्त्री थापा चितवन पुगेका हुन् । पौडेलको अन्त्येष्टि आजै माडीमा हुन लागेको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतमलगायतका नेता चितवन आउने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us