प्रनेश गौतम रिहा

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १०:२५ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ – नेपाली सिनेमा ‘वीर विक्रम– २’ समीक्षा गरेबापत् साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतमलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गौतमलाई हाजिरी जमानतमा रिहा गरेको पुष्टि गरे ।

गौतमलाई बिहीबार राति ८ बजे प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको उनले बताए ।

‘वीर विक्रम– २’ का निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले प्रनेशलाई पक्राउ गरेको थियो । गत शुक्रबारदेखि उनी प्रहरी हिरासतमा थिए ।

बिहीबार प्रहरीले साइबर अपराध अभियोगमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । अब उनीमाथि सरकारी वकिल कार्यालयको निर्देशन अनुसार प्रहरीले मुद्दा प्रक्रिया बढाउनेछ ।

गौतमको रिहाइ माग गर्दै काठमाण्डुमा बुधबार प्रदर्शन भएको थियो । उनको गिरफ्तारीले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us