नेपाली कांग्रेसले ३३ देशका नेतालाई डेनमार्कमा प्रशिक्षण दिने

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १०:१६ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ – नेपाली कांग्रेसले ३३ देशमा रहेका पार्टीका जनसम्पर्क समितिमा आवद्ध नेता–कार्यकर्तालाई डेनमार्कमा प्रशिक्षण दिने भएको छ ।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति, प्रशिक्षण प्रतिष्ठानले ३३ देशका नेता–कार्यकर्तालाई एकै ठाउँमा राखेर प्रशिक्षण दिन लागेको हो ।

जुन २१ देखि २३ (असार ६ देखि ८ गतेसम्म) हुने प्रशिक्षणमा निधिसहित महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल, गगन थापालगायत १६ जना सहभागी हुने कार्यक्रम छ ।

‘यो पार्टीको आन्तरिक प्रशिक्षण मात्र होइन । नेपालको समृद्धिमा बाहिर रहेका नेपालीको भूमिका के हुन सक्छ भन्ने छलफल पनि हो,’ प्रवक्ता शर्माले भने ।

बढ्दो तापक्रम र नेपालमा पर्ने प्रभाव, बदलिएको राजनीति दक्षिण एसिया र नेपाल, समाजबादको युरोप अनुभव र नेपाललगायत विषयमा छलफल हुने शर्माले बताए ।

उपसभापति निधि र केन्द्रीय सदस्य रिजाल बिहीबार नै डेनमार्कका लागि उडिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us