
काठमाण्डु, ३० जेठ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य एंव सांसद योगेश भट्टराईले शिक्षा क्षेत्रमा बजेट अपुग भएको बताएका छन् ।
प्रतिनिधिसभामा शिक्षा, खानेपानी, संघीय मामिला मन्त्रालयको विनियोजित शीर्षकमाथि छलफलमा भाग लिँदै उनले भने, ‘विश्वव्यापी मान्यता हो, समाजवादमा जाने हो भने शिक्षामा लगानी बढाउनैपर्छ । शिक्षाको परिवर्तनबिना समाजवादमा जानै सक्दैनौँ ।’
भौतिक संरचनामा भएको प्रगतिले मात्रै समाजवादको आधार तयार नहुने उनको निष्कर्ष थियो । मन्त्रीहरूले बाटोघाटो बनाएको मात्रै चर्चा गर्ने तर विद्यार्थीको कक्षा छाड्ने दर घटे–नघटेको चर्चा नगर्ने, कक्षा थपेको पनि नबताउने भन्दै शिक्षा क्षेत्रको उदासिनताप्रति उनको गुनासो थियो ।
‘विश्वव्यापी मान्यता हो, कूल बजेटको २०–२५ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ । अहिलेको बजेटमा १०.६८ प्रतिशतमात्रै देखिन्छ । कूल गार्हस्थ उत्पादनको ६–८ प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने मान्यता छ । तर, आजको बजेटमा ४.६ मात्रै छ, यो लगानीले बाञ्छित उपलब्धिमा पुग्न सकिँदैन,’ उनको भनाइ थियो ।
शिक्षा मुलुकको समग्र विकासको पूर्व सर्त भएकाले लगानी बढाउन उनले अपिल गरे ।