गगनको प्रश्नः १० लाख विद्यार्थी कता हराए ?

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १३:४३ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले ३ वर्षको बीचमा उच्च माध्यमिक तहमा मात्र १० लाख ४४ हजार विद्यार्थी हराएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले ०६४ मा कक्षा ११ मा भर्ना भएकामध्ये १२ को परीक्षासम्म आइपुग्दा १० लाख ४४ हजार विद्यार्थी हराएको बताएका हुन् ।

‘०६४ सालमा ११ कक्षामा १३ लाख विद्यार्थी भर्ना भए । अहिले ०७६ सालमा १२ कक्षाको परीक्षा दिँदै गर्दा २ लाख ९० हजार मात्र बाँकी रहे । १० लाख ४४ हजार विद्यार्थी हराए ,’ सांसद थापाले भने, ‘विद्यालयमा नटिक्ने विद्यार्थीहरु कसका छोराछोरी हुन् ? तपाईं–हाम्रा पक्कै होइनन् । जो विद्यालयमा टिकेका छन् उनीहरुले कति सिके भनेर हेर्यौ भने सरकार भन्छ– कुनै पनि विद्यार्थीले कुनै पनि विषयमा ५० प्रतिशतभन्दा बढी सिकेन ।’

अंग्रेजी, गणित र विज्ञानको अवस्था हेर्दा सिकाइ झन् कम भएको उनले बताए । ती नसिक्ने विद्यार्थीहरु पनि सांसदका सन्तान नभएको उनको भनाइ छ । ३६ हजारभन्दा बढी प्रारम्भिक बाल विकास केन्द्र देशमा रहेकोमा योग्य शिक्षकले नभई ८ कक्षा उत्तीर्ण गरेकाहरुले ६ हजारभन्दा कम तलबमा पढाइरहेको थापाले बताए । ‘तर, संविधानले यसो गर्न पाइँदैन भन्छ । लेखेको कुरा जे छ, त्यो हामी गरिरहेका छैनौं । यो राष्ट्रिय लज्जाको विषय हो,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us