सांसदलाई ल्यापटप दिने भएपछि रामकुमारी झाँक्री आक्रोशित

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १२:३६ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – सत्तारुढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसदलाई ल्यापटप बाँड्ने संसद सचिवालयको निर्णयप्रति असहमति व्यक्त गरेकी छन् ।

संसद् सचिवालयले केही दिनअघि प्रतिनिधिसभाका १६५ प्रत्यक्ष, ११० समानुपातिक र ५९ राष्ट्रिय सभाका सदस्यलाई एक–एकवटा ल्यापटप बाँड्ने प्रक्रिया शुरू गरेको समाचार बाहिरिएको थियो ।

झाँक्रीले संसदमा भनिन्, ‘सांसदहरूलाई यस्ता खुद्रा–मसिना कुराहरू बाँड्ने र हुर्मत लिने काम बेलाबखत भइरहेको छ । कहिले ६ करोडको सांसद विकास कोषको नाममा, ०५१ सालमा गरिएको भन्सार सुविधामा सांसदहरूले गाडी ल्याउने कुरा, यस्ता सबै कुराले सांसदलाई जनताबाट डिट्याच (विमुख) गर्ने, सांसदप्रति जनताको नकारात्मक भावनाको विकास भएको देखिन्छ ।’

यस्ता गतिविधिले संसदीय व्यवस्था र प्रजातन्त्रमा आँच आउने भन्दै उनले प्रविधिमैत्री बनाउने नाममा सांसदको हुर्मत नलिन आग्रह गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us