प्रधानमन्‍त्री रोजगार कार्यक्रमबाट ११७ जनाले पाए जागिर

काठमाण्डु टुडे २०७६ जेठ ३० गते ११:०१ मा प्रकाशित

सर्लाही, ३० जेठ – सर्लाहीको बागमती नगरपालिकामा प्रधानमन्‍त्री रोजगार कार्यक्रम सुरु भएको छ । रोजगार कार्यक्रमअन्तर्गत बुधबारदेखि लागू हुनेगरी ११७ जनालाई रोजगार प्रदान गरिएको छ ।

कार्यक्रम एक आर्थिक वर्षमा १०० दिन रोजगारी दिनुपर्ने भए पनि यस आर्थिक वर्षको समय अन्तिम भइसकेकोले नगरपालिकाको १२ वटै वडाबाट कामदार छनोट गरी ३० दिने रोजगार प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक निलम कुशवाहाले जानकारी दिइन् ।

नगरपालिकामा ९९५ जनाले बेरोजगार फारम भरेको भए पनि, यस चालू आर्थिक वर्षमा फारम भरेका मध्यबाट अति विपन्न परिवारका सदस्यलाई छनोट गरिएको संयोजक कुशवाहाले बताइन् ।

छनोट भएकाहरूलाई नगरपालिकाभित्र रहेका सडकको दुवै छेउमा वृक्षरोपण, विद्यालय, वडा कार्यालयको छेउछाउमा सरसफाइको कामका लागि खटाइनेछ । त्यसबापत उनीहरूले दैनिक ५१७ रुपैयाँ तलब भत्ता पाउनेछन् ।

रोजगार कार्यक्रमका लागि नगरपालिकाकामा २६ लाख रुपैयाँ बजेट आएको नगरपालिकाका प्रमुख(मेयर) भरतकुमार थापाले जानकारी दिए । रोजगार प्राप्त गर्नका लागि १८ वर्ष पूरा भई ५९ वर्ष हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us