भारतमा सामुद्रिक आँधी आउने चेतावनी

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १०:२३ मा प्रकाशित

गुजरात , ३० जेठ – भारतको गुजरात राज्यमा आज सामुद्रिक आँधी आउने अनुमान त्यहाँका मौसमविद्ले गरेपछि तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टा गतिमा अघि बढेको भारतीय मौसम विभागले जनाएको छ ।

विभागका अनुसार उक्त आँधी गुजरातको तटसँग ठोक्किने छ। जसबाट ४ सय ८ गाउँका ६० लाख बासिन्दा प्रभावित हुनेछन् ।

उक्त आँधीको डरले गुजरातको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो ।

आँधीले गुजरातको कच्छ, देवभूमि, द्वारका, पोरबन्दर, राजकोट, जूनागढ दीव, गिर, सोमनाथ, अमरेली र भावनगरलगायतका जिल्लामा असर पार्ने अनुमान गरिएको छ ।

गुजरात, महाराष्ट्र, कर्नाटक र गोवामा सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।

वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ । गुजरातको पोरबंदर र जामनगरजस्ता कयौं इलाकामा यतिबेला भारी वर्षा र तीब्र हावाको प्रकोप देखिएको भारतीय मौसमविद्ले बताएका छन् ।

भारतको मौसम विभागका अनुसार मंगलबार अरब सागरबाट सुरु वायु आँधी उत्तरतर्फ आउने क्रममा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us