प्रधानमन्त्री ओलीले फ्रान्सका समकक्षीसँग भेट गर्ने

काठमाण्डु टुडे २०७६ जेठ २८ गते १५:१४ मा प्रकाशित

फ्रान्स, २८ जेठ – युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहीवार औपचारिक वार्ता हुने टुंगो लागेको छ । दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुने भएको हो ।

वार्ताका क्रममा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध भएको ७० औं वर्ष भएकाले दुई देशको कूटनीतिक सम्बन्धलाई अझै विस्तार गर्ने र आर्थिक तथा सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

लामो समयपछि नेपालमा स्थिर सरकार रहेको, संविधान बनेको र अन्तर्राष्ट्रिय लगानीमा सरकार प्रतिवद्ध रहेकाले फ्रान्सेलीहरुलाई नेपालमा लगानीका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव गर्ने छन् ।

दुई समकक्षीबीचको वार्तापछि प्रधानमन्त्री ओली बिहिबार साँझ नै राष्ट्रिय सभामा मैत्री समूहको अध्यक्ष भेरोनिक रिओतों र राष्ट्रिय सभाले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने छन् ।

रात्रीभोजकै क्रममा नेपाल र फ्रान्सको संसदीय मैत्री संघका बीच के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने छ । ओलीले फ्रान्सेली संसदीय टोलीलाई नेपाल भ्रमणको निम्तो दिने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो बेलायतको लण्डनबाट सार्वजनिक रेल चढेर पेरिस आउने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us