
काठमाण्डु, २७ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयक रोक्न र गुठी विधेयकको विरोधमा उत्रिएका सर्वसाधारणमाथि भएको आक्रमणको छानबिन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले माइतीघर मण्डलामा भएको घटनाबारे सरकारको जवाफ माग गर्दै दोषीमाथि कारवाही नगरे सदन चल्न नदिने बताए ।
सरकारले धर्म, संस्कृति र रीतिथिति विपरीत ल्याइएको विधेयक ल्याएकोमा आफूहरूको विषयमा खाणले आपत्ति रहेको बताए ।
उनले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने संवैधानिक अधिकार विपरीत विरोध गर्न भेला भएका नागरिकमाथि बर्बर आक्रमण गरेको भन्दै आपत्ति जनाए ।
‘मिडिया काउन्सिलदेखि गुठी सम्बन्धी विधेयक संविधान विपरीत छ, संविधान विपरीतका विधेयक बारम्बार किन गरिन्छ ?’ उनले प्रश्न गरे । प्रतिपक्षी सांसदको विरोधपछि भूमिसुधार मन्त्री पदमा अर्यालले संसदमा जवाफ दिइरहेकी छन् ।