
काठमाण्डु, २७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आजको नेपालमा राजनीतिको मात्र गफ पिटेर नचल्ने बताउँदै विकास राष्ट्रको मूल एजेण्डा बनिसकेको बताएका छन् ।
युरोपका तीन देशको भ्रमणको क्रममा आइतबार स्वीजरल्याण्ड पुगेका प्रधानमन्त्री ओलीले जेनेभास्थित नेपाली दूतावासद्वारा साँझ आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ट्विटमार्फत् जनाएअनुसार सो अवसरमा प्रधानमन्त्रीले विकासको मुद्दाबाट कोही उम्किन नपाउने र नेपाल र नेपालीलाई आािर्थक सामाजिक रुपान्तरण चाहिएको बताएका थिए ।
उनले भनेका छन्, ‘प्रधानमन्त्री ओली जेनेभामा नेपालीहरुसँगः आजको नेपालमा राजनीतिको मात्र गफ फिटेर चल्दैन । विकास राष्ट्रको मूल एजेण्डा बनिसकेको छ । बिकासको मुद्दाबाट कोही उम्किन पाउँदैन, नेपाल र नेपालीलाई आर्थिक सामाजिक रूपान्तरणको चाहिएको छ ।’
उनले एक पल्टको नेपाली सदैव नेपाली हुने जनाउँदै गैरआवासीयहरुले राजनीतिक अधिकार एक ठाउँमा मात्र प्रयोग गर्नुपर्ने जनाए । उनले एउटा देश छान्नुपर्छ बाँकी सबै अधिकार गैरआवासीय नेपालीहरुले पनि पाउने जनाएका थिए । प्रधानमन्त्री ओली आइतबार नै जेनेभा पुगेका थिए ।
त्यहाँस्थित नेपाली राजदूत मणिप्रसाद भट्टराईले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजका क्रममा प्रधानमन्त्रीले जेनेभास्थित नेपाली समुदायलाई सम्बोधन गरेको जनाइएको छ । उनलाई विमानस्थलमा राजदूत भट्टराई,जेनेभाको क्यान्टोनका प्रतिनिधि र विमानस्थलका प्रोटोकल अधिकारीले स्वागत गरेको जनाइएको छ । प्रधानमन्त्री ओलीले आज आइएलओ शतवार्षिकी समारोहलाई सम्बोधन गर्दैछन् ।