पाल्पामा जंगली च्याउ तरकारी खाँदा…

काठमाण्डु टुडे २०७६ जेठ २६ गते १०:०४ मा प्रकाशित

पाल्पा, २६ जेठ – जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जंगली च्याउ खाँदा २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । दुवै दिदीबहिनी हुन् ।

पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जंगली च्याउ तरकारीका रुपमा खाँदा २ जनाको मृत्यु र ८ बिरामी परेका छन् ।

चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए ।

बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी पत्नी ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, ७ वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुतासिंह ठकुरी रहेका छन् । उनीहरू ४ परिवारका सदस्य हुन् ।

बिरामीको नवलपुरस्थित मध्यबिन्दू अस्पतालमा उपचार भइरहेको छ । शुक्रवार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन् ।

वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us