शिक्षिकाको दादागिरी, लिपिस्टिक नलगाएको भन्दै हात भाँचियो

काठमाण्डु टुडे २०७६ जेठ २० गते १४:४० मा प्रकाशित

काठमाण्डु, २० जेठ – रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् ।

घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन् । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ ।

उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको छ । जोर्नीमा दबाब देखिए पनि केही दिनपछि सुधार आउन सक्ने डा. शर्माले बताए । सबैलाई १५ दिनपछि फेरि फलोअप चेकअपका लागि डाकिएको डा. शर्माले बताए ।

शिक्षिका लक्ष्मी पुनले आफूले गल्ती गरेको अस्वीकार गरेकी छन् । गाउँघरकै भाइ बहिनीहरू नबिग्रिउन, गलत बाटोमा नलागून् भनेर आफूले सबैलाई विद्यालयको प्रांगणमा एक–एक लठ्ठी मात्रै हिर्काएको उनले दाबी गरिन् ।

किन नबाटेको, किन लिपिष्टिक लगाएको, गालामा कोठी किन बनाएको ? भन्दै सालको काठको पटरी (चिरपट)ले शिक्षिकाले कुटेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us