बालुवाटार जग्गा प्रकरणमा मन्त्री अर्यालको यस्तो प्रतिक्रिया

काठमाण्डु टुडे २०७६ जेठ २० गते १०:५४ मा प्रकाशित

पाँचथर, २० जेठ – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताएकी छिन् ।

प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताउँदै मन्त्री अर्यालले सरकारी सेवा प्रवाहलाई परिवर्तन गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुने धारणा राखिन् ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले मातहतका निकायमा नागरिकले काम कारवाही, व्यवहार र अनुभूतिमा परिवर्तन देख्न पाउने व्यवस्था गर्न लागेको बताइन् ।

मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा सरलीकृत फारम तथा अनलाइन प्रणालीको विकास भइरहेको र यी कार्यालयलाई ढिलो चाँडो कागजविहीन प्रणालीमा रुपान्तरण गर्ने मन्त्रालयको लक्ष्य रहेको जानकारी दिइन् ।

उनले अबको डेढ वर्षमा देशभरिका सबै मालपोत कार्यालयमा डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्ने लक्ष्यका साथ काम भइरहेको छ भनिन् । यसअघि छ वटा मालपोत कार्यालयलाई परीक्षणको रुपमा डिजिटल प्रणाली लागू गर्दा यी कार्यालयबाट छ महीनामा राजश्व सङ्कलन रु एक अर्ब ५० करोडले वृद्धि भएको दृष्टान्त पेश गर्दै मन्त्री अर्यालले सेवा प्रवाहलाई आधुनिक बनाउनुको विकल्प नरहेको बताइन् ।

उनले सरकारी जग्गामा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, अतिक्रमित जग्गामा रहेको बसोबास हटाएरै छाड्ने दृढता व्यक्त गरिन् ।

मन्त्री अर्यालले बालुवाटारमा भएको जग्गा अतिक्रमणको विभिन्न तीन वटा निकायबाट छानबिन भइरहेको जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us