भारतमा अधिकृत भएको ३३ वर्ष पछि मात्रै सचिव हुन पाइन्छः रामकुमारी झाक्री

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १३:११ मा प्रकाशित

काठमाण्डु, १९ जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाएकी छन् ।

आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयको सचिवहरुको कार्य क्षमता, कुशलता, समन्वयमा अभाव देखिएको दावी गरेकी छिन् ।

सांसद झाँक्रीले सचिवमा बढुवा हुन कम्तिमा पनि अधिकृत भएको २५ वर्ष पुग्नै पर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् । भारतमा अधिकृत भएको ३३ वर्ष पछि मात्रै सचिव हुने प्रावधान राखिएको उल्लेख गर्दै नेपालमा पनि सचिव हुन अधिकृत भएको कम्तिमा २५ वर्ष हुनैपर्ने कानुनी व्यवस्था गर्नुपर्ने उनको तर्क छ । सांसद झाँक्रीले अधिकृत भएको केही वर्षमै सचिव हुने भएका कारण पनि सचिवहरुमा कार्य कुशलताको अभाव देखिएको दावी पनि गरिन् ।

सांसद विमला विश्वकर्माले बन्द/हडतालमा उत्र्ने कर्मचारीलाई पदबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारिन् । जनताको सेवामा केन्द्रित हुनुपर्ने कर्मचारीहरु विगतमा पनि बन्द/हडतालमा सहभागी हुने गरेकाले त्यसो गरे कडा कार्वाही गर्ने व्यवस्था हुनुपर्ने उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us