छायाँ अर्थमन्त्रीले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रको बजेटमा आँखा लगाएपछि…

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १२:४२ मा प्रकाशित

काठमाण्डु, १९ जेठ – नेपाली कांग्रेस सांसद एवं छाया अर्थमन्त्री मीनेन्द्र रिजालले बजेट वितरणमुखी भएको आरोप लगाएका छन् । आज प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमाथि टिप्पणी गर्दै उनले बजेट आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएको देखिएको दाबी गरे ।

उनले भने, ‘१५ सय ३३ अर्बको स्रोत साधन र ऋण परिचालन कसरी हुन्छ ? विश्वासको आधार नै छैन । चालु खर्च घटाउन सकिन्न तर, यो वर्षको वितरणमुखी कार्यक्रमले झनै थपेको छ । अचानोमा छ । पुँजीगत छ । जुन लक्ष्य लिइएको छ त्यो कुनै पनि हालतमा पूरा हुन सक्दैन ।’

साथै उनले बजेटले इतिहास निर्माणको बाटो समात्ने आशा गरेको तर, त्यसो नभएको बताएका छन् । उनले भने, ‘आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएर वितरणमुखी कार्यक्रम बाँडियो । खाडीमा दुःख गरेर बगाएको पसिनाको रकम वितरणमुखी कार्यक्रममा बाँडेर आउने पुस्ताको भविष्य बन्दैन ।’

साथै छायााँ अर्थमन्त्री रिजालले पूर्वाधार विकास कोष संघीयताको मर्म र भाव विपरीत भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा खर्च गर्ने आधा रकम आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरे आफूलाई पूर्वाधार विकास कोषको रकम नचाहिने दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्री र मेरो क्षेत्र खोला वारिपारि हो । प्रमको निर्वाचन क्षेत्रमा खर्च हुने आधा रकम मात्र मेरो क्षेत्रमा खर्च गरे मलाई पूर्वाधार विकास कोषको रकम चाहिन्नँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us