
काठमाण्डु, १९ जेठ – सत्तारुढ दल नेकपा प्रवेश गर्दै विप्लव समूह(नेकपा)का नेता पदम राईले आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरेका छन् । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव समूहमा आवद्ध भएको, तर पछिल्लो समय पार्टीको गतिविधिले मन नछोएको प्रतिक्रिया दिएका छन् ।
हिजो सशस्त्र द्वन्द्वमा १७ हजार मान्छे गुमाएको भन्दै उनले अब फेरि त्यस्तो नहोस् भन्ने चाहेको बताए । उनले भने, ‘त्यही क्रममा मैले वार्ताको पहल गरेँ । सोमप्रसाद पाण्डे हुँदै नेकपाको नेतृत्वलाई भेटेँ ।’
राईले भने, ‘बदला त लिन सकिएला, तर राष्ट्रलाई फाइदा हुँदैन भन्ने मैले बुझेँ ।’
पूर्वराज्यमन्त्री समेत रहेका राईलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्रवेश गराए ।