विप्लवबाट कारबाहीमा परेका पदम राई नेकपामा प्रवेश

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १०:४५ मा प्रकाशित

काठमाण्डु, १९ जेठ — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पोलिटब्युरो सदस्य पदम राई सत्तारूढ नेकपा प्रवेश गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताहरू सहभागी थिए ।

भोजपुरका राईलाई पार्टी नीतिविपरित अभिव्यक्ति दिएको भन्दै विप्लवले केही समयअघि निलम्बन गरेका थिए । तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधान सभामा भोजपुरबाट निर्वाचित भएका राई राज्यमन्त्री बनेका थिय ।

पार्टी फुटेसँगै मोहन वैद्यको समूहमा लागेका थिए । पछि उनी विप्लव समूहमा पुगेका थिए ।

२०७४ को आमनिर्वाचनमा भोजपुरका प्रदेश सभा उम्मेद्वार (हाल प्रदेश १ का मुख्यमन्त्री) शेरधन राईमाथिमा भएको बम आक्रमणमा संलग्नता रहेको भन्दै प्रहरीले उनलाई पक्रेको थियो । पछि अदालतको आदेशबाट उनी रिहा भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us