जयशंकरलाई पत्रै पठाएर देउवाको बधाई

काठमाण्डु टुडे २०७६ जेठ १८ गते २०:५८ मा प्रकाशित

काठमाण्डु, १८ जेठ– काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको विदेशमन्त्रीमा नियुक्त भएकामा एस जयशंकरलाई बधाई दिएका छन् ।
देउवाले शनिबार औपचारिक पत्र पठाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका हुन् । नरेन्द्र दामोदर मोदी दोश्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले पूर्वविदेश सचिव जयशंकरलाई शक्तिशाली विदेशमन्त्रीमा नियुक्त गरेका थिए । नेपालमा भने जयशंकर विदेशमन्त्री हुनुलाई भारतको आगामी नेपाल नीति कठोर हुने कारकका रुपमा हेरिएको छ ।

२०७२ साल असोज १ गते प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा काठमाण्डु आएका जयशंकरले संविधान जारी नगर्न नेपालको नेतृत्वलाई दबाब दिएका थिए । यद्यपि भारतको उक्त दबाबलाई दलहरुले इन्कार गरे र ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी भयो । आफ्नो असहमतिबीच संविधान जारी भएको झोकमा भारतले नेपालमाथि नाकाबन्दी नै लगायो । तत्मालीन अवस्थामा नेपालप्रति अनुदार रबैया अपनाएका जयशंकर विदेशमन्त्री नियुक्त भएकामा नेपालमा संशयका साथ हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us