
महोत्तरी, १७ जेठ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगबाट स्थानीय तहको लागि आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने बताएका छन् ।
महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानको भावना विपरीत आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने भन्दै कानुनी उपचार खोजिने बताएका हुन् ।
संविधानको धारा २७७ मा स्थानीय तहको कर्मचारी ब्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट ब्यवस्था भए पनि केन्द्रबाटै विज्ञापन गरिएको भन्दै मुख्यमन्त्री राउतले केन्द्र सरकारले संघीयतामाथि नै अंकुश लगाउने प्रयास गरेको आरोप लगाए ।
उनले भने, ‘संघीयताको अर्थ आफ्नो शासन प्रशासन हुनुपर्दछ भन्ने हो तर संघीय सरकारले त्यसमाथि अंकुश लगाउने र समावेशितालाई लत्याउने प्रयास गरिएको छ । त्यो सह्य हुँदैन, हामी कानुनी उपचार खोज्छौं ।’