नेपाल सुरक्षित रहेको सन्देश दिन ‘एसियन रेजिलियन्स समिट’को आयोजना

काठमाण्डु टुडे २०७६ जेठ १७ गते १७:१३ मा प्रकाशित

काठमाण्डु, १७ जेठ – पहिलोपटक नेपालमा ‘एसियन रेजिलियन्स समिट–२०१९’ आयोजना गरिएको छ ।

भूकम्पपछिको अप्ठ्यारो अवस्था पार गर्दै नेपाल अब पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले समिट आयोजना गरिएको हो ।

नेपाल विभिन्न चुनौतिलाई चिर्दै विश्वकै सुरक्षित र आकर्षक गन्तव्यको रुपमा पर्यटकको पर्खाइमा छ भन्ने सन्देससहित पर्यटन प्रवद्र्धनका लागि सम्मेलन कोशेढुङ्गा सावित भएको सहभागी सरोकारवालाले उल्लेख गरेका छन् ।

विश्व पर्यटनबजारमा साम्राज्य जमाएका मुलुकका प्रतिष्ठत व्यवसायि, विज्ञहरुसहितको जमघटले नेपाल विश्व पर्यटन बजारका लागि उपयुक्त गन्तब्य हो भन्ने दरिलो उदाहरण प्रस्तुत गर्न पनि समिट उपयोगी हुने उनीहरुको धारणा छ ।

सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पर्यटन क्षेत्रको महत्वपूर्ण सम्मेलन नेपालमा आयोजना हुनुले पर्यटन प्रवद्र्धनका साथै यसको विकास विस्तारमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘प्रतिष्ठित विदेशी पाहुनाको उपस्थितिमा भएको सम्मेलन आफैमा विशिष्ठ छ, यसले नेपाल गन्तब्य पहिचान र प्रवद्र्धन तथा दिगो पर्यटन विकासका लागि महत्वपूर्ण थलो बन्नेछ । रेजिलियन्स जुन विपत्तिबाट फर्कन नेपालले गरेको तयारीले सकारात्मक सन्देश दिएको छ, ताकी नेपाल अप्ठ्यारो अवस्थालाई पार गर्दै पर्यटनका लागि सुरक्षित र आकर्षण गन्तब्य बन्न सक्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ’, उनले भने ।

नेपाली पर्यटनले विपत मात्र नभई जलवायु परिवर्तनको जोखिमसमेत व्यहोरेको अवस्थामा विश्व समुदायको ध्यान आकर्षण गर्न पनि सम्मेलन एक हदसम्म उपयोग बन्ने उनको भनाइ थियो । पराराष्ट्रमन्त्री ज्ञवालीले पर्यटन विश्व अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने आधार भएको र सोही अनुरुप पर्यटन क्षेत्रको समग्र विकासका लागि सरकारले विशेष प्राथमिकताकाथ योजनाबद्ध कार्यक्रम अघि बढाएको उल्लेख गरे ।

सम्मेलनमा सहभागी विदेशी प्रतिनिधिले नेपालको पर्यटनमा चासो दिएर परराष्ट्रमन्त्रीनै उपस्थित हुनुले पर्यटन कति प्राथमिकतामा रहेछ भन्ने सन्देश दिएको उल्लेख गर्दै नेपालले पर्यटनको प्रभावकारी प्रवद्र्धनगरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्नेतर्फ अभियान चलाइनुपर्नेमा विदेशी विज्ञहरुको जोड छ ।

जमाइकाका पर्यटनमन्त्री इडमण्ड बार्टलिटले पर्यटन क्षेत्रमा आएको विपत्तिलाई कसरी व्यवस्थापन गरी सुरक्षित गन्तब्यका रुपमा परिचित गराउन नेपालले नमूना उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै यसले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश दिने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले विनाशकारी भूकम्प पश्चात् नेपालको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्केको सन्देश दिन तथा दिगो पर्यटन विकासका लागि ज्ञान हासिल गर्न सम्मेलन उपयोगी हुने बताए ।

विश्व पर्यटन सङ्गठनका पूर्वमहासचिव एवम् ग्लोबल ट्राभल एण्ड टुरिज्म रेजिलियन्स काउन्सिलका अध्यक्ष तलिब राइफाइले नेपालीले अफठ्यारो अवस्थाबाट सफलतातर्फ उन्मुख भएको सन्देश दिएको भन्दै पर्यटन प्रवद्र्धनका प्राविधिक क्षमता अभविृद्धि गरिनुपर्नेमा जोड दिए ।

विश्व पर्यटन सङ्गठनका एशिया प्यासिफिक क्षेत्रीय निर्देशक छु जिङले दुई ठूला छिमेकी मुलुक चीन र भारतबाट पर्यटनको लाभ लिने गरी उपस्थिति जनाउनुपर्नेमा जोड दिए । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का प्रमुख कार्यकारी अधिकृत अध्यक्ष म्यारीओ हार्डीले अप्ठ्यारोलाई चिर्दै नेपालले विश्वलाई सकारात्मक सन्देश प्रवाह गर्न सम्मेलन सान्दर्भिक हुने धारणा राखे ।

नेपाल पर्यटन बोर्डले ग्लोबल ट्राभल एण्ड टुरिज्म रेजिलियन्स काउन्सिल, संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) र प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) सँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो। विभिन्न महादेशमा सम्पन्नसमिटको एशियाको पहिलो संस्करण नेपालमा भएको हो ।

नेपालसहित विभिन्न मुलुकका पर्यटन व्यवसायी, विज्ञहरुको जमघट रहेको उक्त सम्मेलनले नेपालको पर्यटन क्षेत्रले विसं २०७२ को विनाशकारी भूकम्प पश्चात् गरेको पुनःस्थापनको नमूना प्रस्तुत गरी विश्वभरिका पर्यटन क्षेत्रका हस्तीको सञ्जाल तथा ज्ञान र अनुभव साटासाट गर्ने अवसर प्रदान गर्नेछ । ३०० विज्ञ सहभागी हुने सम्मेलनमा ३० वटा पर्यटनसँग सम्बन्धित विदेशी विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us