बजेटबारे कांग्रेसले दियो यस्तो प्रतिक्रिया

काठमाण्डु टुडे २०७६ जेठ १६ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, १६ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जनताको चाहनाविपरीत बजेट ल्याएको निष्कर्ष निकालेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको दलको बैठकले सरकारले आगामी आर्थिक २०७६/०७७ का लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सरकारले नेपाली जनताको चाहना विपरीत बजेट ल्याएको निष्कर्ष बैठकले गरेको जानकारी दिए ।

‘रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको छ,’ उनले भने ।

सरकारले बजेटलाई वितरणमुखी शैलीमा ल्याएको टिप्पणी गर्दै उनले बजेटले मुलुकलाई जनताले चाहेको जस्तो विकसित र समृद्ध बनाउन नसक्ने दाबी गरे । ‘सरकारले बजेटलाई वितरणमुखी शैलीमा ल्याएको छ । यसले जनताले चाहेको जस्तो मुलुकलाई विकसित र समृद्ध बनाउन सक्दैन,’ खाँणले भने ।

सरकारले आफूसँग भएको रकमलाई विकास निर्माणमा र पूँजीगत रुपमा खर्च गर्नुभन्दा पनि चालु खर्च बढ्ने खालको र बजेटको सुरुवातमै एक तिहाइभन्दा ठूलो हिस्सा ऋणको रुपमा ग्रहण गरेर खर्च गर्ने सोच राखेको बताए ।

‘यसले गर्दा नेपाली नागरिकमाथि ऋणको बोझ थपिदै जान्छ । विकासको प्रतिफल आउन सक्दैन । रोजगारी सिर्जना गर्न सक्दैन । उत्पादन पनि नबढ्ने भएकाले व्यापार घाटा अझै बढेर जान्छ,’ उनले भने । बैठकले सांसदहरुका लागि विनियोजन गरिएको छ करोड रुपैयाँ बराबरको बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय गरेको खाँणले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us