
काठमाण्डु, १६ जेठ – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र नारायणी ब्युरो सदस्य देव घिमिरे रमणलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
नेकपाको नारायणी ब्युरो इन्चार्ज मिलनले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी नीति विपरित कार्य गरेकोले कारवाही गरिएको उल्लेख गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी पद्धतिअनुसार विगतमा रुपान्तरणको लागि आवश्यक कदम चालेको तर रुपान्तरणक हुनुको साटो नीति विपरित पार्टीलाई गम्भीर आँच आउने कार्य गरेको पाइएकोले कारवाही गरिएको हो ।’
अधिकारीसहित ३ जनाले गत आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा हिंसाको बाटो परित्याग गरेको भन्दै आत्मसर्मपण गरेका थिए । आत्मसर्मपण गरेका उनलाई दैनिक प्रहरीमा हाजिर हुने गरी छोडिएको छ ।
ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडे लगत्तै अधिकारीसहित संजिव कार्की र देवराज घिमिरेले विप्लव नेकपा पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि आत्मसमर्पण गरेका थिए । अधिकारी खानेपानीमन्त्री बिना मगरका पूर्व पति हुन् ।