
नयाँ दिल्ली, १५ जेठ – नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालमा वित्तमन्त्री रहेका वरिष्ठ भाजपा नेता अरुण जेट्लीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आफूलाई मन्त्री नबनाउन आग्रह गरेका छन् । अरुण जेट्लीले मोदीको शपथ ग्रहण भन्दा एक दिन अगाडि ट्वीट गरेर आफ्नो स्वास्थको हवाला दिँदै प्रधानमन्त्रीलाई चिठ्ठी लेखेको जनाएका छन् ।
जेट्लीले यस पत्रमा भनेका छन्, ‘पछिल्लो डेढ वर्षदेखि मेरो स्वास्थ्यमा गम्भीर समस्या आएको छ । गम्भीर स्वास्थ्य चुनौतीसँग जुधिरहेकाले मन्त्री नबनाउनू । डाक्टरको सहयोगमा रोगबाट निस्किने कोशिशमा छु । चुनाव अभियानपछि मैले तपाईंलाई मौखिक रूपमा बताएको छु । चुनाव अभियानका क्रममा आफ्नो भूमिका निर्वाहका बावजुद भविष्यमा कुनै पनि जिम्मेवारी नलिने निर्णय गरेको छु ।’
जेट्लीले औपचारिकरुपमै आफ्नो उपचारका लागि समय दिनुपर्ने भएकाले नयाँ सरकारमा सामेल नहुने अनमुति दिन आग्रह गरेका हुन् । जेट्ली उपचारका लागि अमेरिका गएपछि यो वर्षको बजेट पनि पेश गर्न पाएका थिएनन् । यो सालको फेब्रुअरी १ मा मोदी सरकारको अन्तिम बजेट रेल मन्त्री पियुष गोयलले पेश गरेका थिए ।
सन् २०१४ मा प्रधानमन्त्री हुँदा मोदीले बनाएका दुई मन्त्री भने नयाँ क्याबिनेटमा हुने छैन । विदेश मन्त्री सुष्मा स्वराज र वित्त मन्त्री अरूण जेट्लीले आफूहरू नयाँ सरकारमा नबस्ने बताएका छन् ।