तातोपानी पुगेर मातृका यादवले गरे चीनकाे प्रशंसा

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १४:५५ मा प्रकाशित

सिन्धुपाल्चोक, १५ जेठ – उद्योग वाणिज्य मन्त्री मात्रिका यादवले नेपाल, एक चीन नीतिबाट कुनै हालतमा पछि नहटेको प्रष्ट पारेका छन् । बुधबार चीन र नेपालको सिमाना पर्ने तातोपानी नाकाको सुभारम्भ गर्दै मन्त्री यादवले नेपाल सरकार एक चीन नीतिप्रति नडग्मगाउने बताएका हुन् ।


मितेरी पुलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भूकम्पपछि अवरुद्ध नाका सञ्चालन गर्न नेपालले गरेको आग्रहलाई स्वीकार गर्दै चीनले देखाएको तत्परतालाई विशेष धन्यवाद दिए ।

‘नेपाल सरकारको आग्रहलाई स्वीकार गरेर चिनियाँ पक्षले तातोपानी नाका सञ्चालनमा अग्रसरता देखाएको छ । यसका लागि चिनियाँ पक्षलाई विशेष धन्यवाद दिनैपर्छ’ मन्त्री यादवले भने, ‘अहिलेसम्म व्यापारिक प्रयोजनका लागि मात्रै प्रयोग हुँदै आएको तातोपानी नाकाबाट अबदेखि दुवै देशका नागरिक सहजै आवतजावतका लागि समेत पहल गर्न आवाश्यक छ ।’

उनले नेपाल–चीन सम्बन्ध सयौं बर्ष पुरानो रहेको भन्दै त्यो सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले हालै नेपालमा भएको लगानी सम्मेलनमा चिनियाँ पक्षबाट आएको लगानीप्रतिको प्रतिवद्धता उत्साहजनक रहेको भन्दै आगामी दिनमा चीन सरकारले नेपालमा लगानी गर्ने र उत्पादित सामान चीनले नै खरिद गरेर सहयोग गरेमा नेपालको व्यपार घाटा कम हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चिनियाँ प्रतिनिधिहरुसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले तातोपानी नाका सञ्चालनमा आएसँगै दुई देशको व्यापारमा सहजता थपिने बताएकी थिइन् ।

०७२ सालको भूकम्पपछि पहिलोपटक चीनबाट सामान बोकेर नेपाली कन्टेनर नेपाल आइपुगेका छन् ।

भन्सारको औपचारिक उद्घाटन बुधबार भए पनि मंगलबार नै ४ वटा नेपाली कन्टेनर सामान ल्याउन चीनको खासाबजार गएका थिए ।

४ वटै कन्टेनर दिउँसो १ बजेतिर लार्चामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us