नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्यो, यस्तो छ तीन दिनको मौसमी अवस्था

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १४:४९ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – पश्चिमी वायुको प्रभावले आज काठमाण्डु उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताए ।

उनका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना छैन । केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम तथा बेलुकीपख हल्का हावाहुरीसहित वर्षा भइरहने मौसमविद् सुवेदीले बताए ।

उनका अनुसार मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने र मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा वर्षा कम भई घाम लाग्ने हुन्छ ।

राति देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्यपहाडी भू–भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको बताइएको छ ।

शुक्रबार देशका पूर्वी तथा मध्यभागहरूमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही र पश्चिम पहाडी भेगका केही स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ७ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै, आज सबभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us