
सर्लाही, १५ जेठ – सर्लाहीको फेरि एक जना महिला दाइजो नल्याएको निहुँमा कुटिएकी छिन् । जिल्लाको मलंगवा नगरपालिका–५, मा मोटरसाइकल र फर्निचर दाइजो नल्याएको भन्दै १८ वर्षीया विनितादेवी यादवलाई श्रीमानले कटेर घाइते बनाएका छन् ।
२२ वर्षीय श्रीमान राजकुमार खिरहरीले दाइजो नल्याएको भन्दै गत शनिबार मरणासन्न हुनेगरी कुटेपछि उनको दुई महिनाको गर्भ पनि खेर गएको छ ।
श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी विनितादेवीको शरीरको विभिन्न भागमा गहिरो चोट लाग्नुका साथै आँखाको नशा चुँडिएको बताइएको छ । घाइते भएपछि उनलाइ उपचारका लागि माइतीपक्षले सदरमुकाम मलंगवा ल्याएका थिए।
उनका माइती पक्ष कुटपिटमा संलग्न श्रीमानलाइ कारबाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेका थिए । कुटपिटमा संलग्न राजकुमारलाइ प्रहरीले २४ घण्टा नियन्त्रणमा लिएर छोडेको छ । पीडित पक्षले लिखित उजुरी दिन नसकेका कारण छाडिदिएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
राजकुमारलाइ श्रीमतीको उपचार गर्ने र अब कहिले पनि श्रीमतीलाइ कुटपिट नगर्ने सर्तमा छाडिएको उनले बताए । विनिताले अघिल्लो वर्ष प्रेम विवाह गरेकी थिइन ।