नेपालीमाथि फेरि भारतले देखायो दादागिरी

- नरेन्द्रसिंह कार्की २०७६ जेठ १५ गते १२:५१ मा प्रकाशित

दार्चुला, १५ जेठ – लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुंगे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो ।

नेपालको तर्फबाट पुलको सबै प्रक्रिया पूरा गरिएको छ तर भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारीले पुलका लागि स्वीकृत दिइएको छैन । पटक पटक पुलको अनुगमन तथा निरीक्षण गरिए पनि नियमित सञ्चालन गर्न अनुमति नदिँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । गत पुसमा निर्माण व्यवसायीले पुल निर्माण सम्पन्न भएको जानकारी गराएको हो ।

‘महाकाली नदीमा दिनहुँ पानी बढेको छ, अहिले ट्युबबाट वारपार गर्नसमेत जोखिम बढेको छ’, स्थानीय माधवप्रसाद जोशीले भने, ‘बर्खा शुरु हुन थाल्यो, पुल सञ्चालन गर्नमा ढिलाइ गरिएको छ ।’ अहिलेको समयमा ट्युबमार्फत् वारपार गर्दा कुनै घटना घटिहाले त्यसको जिम्मेवारी नेपाल भारत दुवै सरकारले लिनुपर्छ ।

‘सर्वसाधारणलाई नेपाल–भारत आवतजावत गर्न ट्युब विस्थापन गरेर झोलुङ्गे पुल निर्माण भयो’, जोशीले भने, ‘तर, पाँच महीना भइसक्यो, ताला खुलेको छैन, माथि पुल छ ।’ स्थानीयले झोलुङ्गे पुलको मुनि (तल)जोखिम मोलेर ट्युबमा वारपार गर्नुपरेको उनले बताए ।

अर्का स्थानीय लीला पुजाराले भने, ‘कसका कारणले पुलमा हिँड्न रोक लगाइएको हो जानकारी चाहिन्छ, नदी बढेको समयमा वारपार गर्न सकिँदैन, हाम्रो दैनिक उपभोग्य सामानदेखि बिरामी हुँदा त्यहीबाट वारपार गराउनुपर्ने बाध्यता कहिलेसम्म रहन्छ ।’ नेपालले झण्डै चार लाख लागतमा भारतीय पक्षको क्षेत्रमा पोष्ट निर्माण, तटबन्ध र बाटो बनाउनमा खर्च गरेको छ ।

‘भारत सरकारले कहिले नेपालको बजेटमार्फत् पोष्ट, तटबन्ध बाटो बनाइदे भन्छ, कहिले कागज प्रक्रिया पुगेन भनेर अलमल्याउँछ’, उनले भने, ‘जनतालाई मर्का हुने गरी काम गर्न पाइँदैन ।’ ट्युब विस्थापन गर्ने भन्दै निर्माण गरिएको झोलुङ्गे पुलमा ताला लगाउँदा अहिले पनि बिरामीले सास्ती भोगेका छन् । गत पुस पहिलो साता लालीस्थित छिरबिलामा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न गरिएको थियो ।

‘पुल निर्माण भएपछि स्थानीयका दुःखका दिन गए सोचेका थियौँ’, स्थानीय तारा भण्डारीले भने, ‘तर पाँच छ महीनासम्म पनि झोलुङ्गे पुलमार्फत् आवतजावत गर्न दिइएको छैन, अझै नागरिकले कति दुःख पाउने हुन्, नदीको बहाव बढ्दै गएको छ, नदी बढेपछि ट्युब चलाउन समस्या हुन्छ ।’

यहाँ सञ्चालन हुँदै आएको ट्युब विस्थापन गर्न भन्दै विसं २०७३ असोज ४ गते कूल एक करोड ३२ लाख लागतमा मनोमालिका कन्सटक्र्सन निर्माण सेवाले पुल निर्माणको सम्झौता गरेको थियो । सो पुल निर्माण गरिएपछि लेकम र मालिकार्जुनका अधिकांश स्थानीयका लागि सहज हुने थियो तर अहिलेसम्म पुल सञ्चालन नहुँदा स्थानीय आक्रोशित बनेका छन् ।

लेकम गाउँपालिका–३ का वडाध्यक्ष राजेन्द्रप्रसाद जोशीले भने, ‘धेरै पटक जनता पुलको ताला काट्छौँ, आन्दोलन गर्छौं भन्छन्, अहिलेसम्म स्थानीयलाई रोकिएको छ तर अझै ढिला हुने हो भने जिम्मेवारी लिन सकिँदैन ।’ विसं २०४८ सालबाटै पुल बन्छ भनेर आशामा बसेका नागरिकले झण्डै २७/२८ वर्षपछि पुल देखे पनि आवतजावत गर्न नपाउँदा निरास छन् । जिल्ला प्रशासन कार्यालयले समेत पटक–पटक लिखित तथा मौखिकरुपमा भारतीय पक्षलाई पुलमा नियमित आवत जावतका लागि स्वीकृति दिन माग गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।

नयाँ आएका डिएमलाई समेत पुलको निरीक्षण तथा आवश्यक कागजात दिई सकिएको उनले जानकारी दिए । उनले आफूले अहिले पनि नियमितरुपमा पुलका लागि घच्घच्याउने काम गरिररहेको बताए । बिरामी बोकेरै पिथौरागढ लेकम–३ का ६८ वर्षीय केशवदत्त पन्त मंगलबार बिरामी भएपछि स्वास्थ्यचौकी लालीमा उपचार सम्भव भएन् ।

मुटु रोगका बिरामी पन्तलाई ट्युबबाट भारत लिन सकिने अवस्था थिएन । नदी निकै बढेको थियो । नेपालतिर सडक निर्माण भइसकेको छैन । महाकाली करिडोर निर्माणाधीन अवस्थामा छ । स्थानीयको विगतदेखि नै मान्छे बिरामी हुँदा त्यही भारतीय स्वास्थ्य संस्थामा लिने गरिएको छ । स्थानीयले नदीमा ट्युबमार्फत् वारपार गर्न नसक्दा पन्तलाई पिठ्युमा बोकेर पिथौरागढ उपचारमा लगिएको स्थानीय माधवप्रसाद जोशीले बताए ।

लालीका स्थानीयलाई चौलानी नदीको पुल शेरासम्म पुग्नै चार पाँच घण्टा लाग्छ । त्यहाँबाट पनि बैतडीको झुलाघाटसम्म बोकेरै लग्नुपर्ने बाध्यता छ । ’बैतडी झुलाघाट हुँदै पिथौरागढ अस्पताल लगियो, सामान्य बिरामी हुँदा यहाँका स्थानीयले सास्ती भोग्नुपरेको छ, गर्भवती महिला होस् वा बिरामी सजिलै अस्पताल पुग्ने अवस्था छैन’, उनले भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us