मोदीले शपथ ग्रहणमा नबोलाएको विषयमा पाकिस्तानले मुख खोल्यो

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १२:३१ मा प्रकाशित

कराची, १५ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निम्ता नगरेकोमा खासै मतलब नदिएको पाकिस्तानले बताएको छ ।

भारतीय प्रधानमन्त्रीले राजनीति गर्न पाकिस्तानी समकक्षीलाई आमन्त्रण गर्न नसकेको पनि पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले दाबी गरेका छन् । मोदीले भारतीय प्रधानमन्त्रीको रूपमा बिहीवार शपथ लिँदै छन् । भारत सरकारले सोमवार प्रधानमन्त्रीको शपथ ग्रहणमा बिमस्टेक देशका नेताहरूलाई आमन्त्रण गरेको छ ।

पाकिस्तान बिमस्टेकको सदस्य रहेको छैन । बिमस्टेक बहुक्षेत्रीय प्राविधिक एवं आर्थिक सहयोगका निम्ति बंगालको खाडीमा बंगलादेश, भारत, म्यान्मा, श्रीलंका, थाइल्यान्ड, भुटान र नेपाल सहभागी छन् ।

विदेशमन्त्री कुरैशीले भने, ‘निर्वाचनका बेला मोदीको समग्र ध्यान पाकिस्तानमाथि आक्रामक रहँदैमा बित्यो । यसैले उनीबाट निम्ता अपेक्षा गर्नु उचित होइन ।’ भारतीय आन्तरिक राजनीतिमा मोदीलाई पाकिस्तानसँग नजिकिन अनुमति नदिने पनि उनको कथन छ । सन् २०१४ को मे २६ मा नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई पनि बोलाइएको थियो । त्यस बेला दक्षिण एशियाली सहयोग संगठन (सार्क)का सबै नेताहरू उपस्थित थिए ।

छिमेकीसँगको सम्बन्धलाई महत्व दिएको सन्देश पनि दिने र पाकिस्तानलाई एकल्याउन खोजेको भारतीय लक्ष्य स्पष्ट देखिन्छ । यसबाट भारतले छिमेकीलाई महत्व दिएको पनि देखिने र पाकिस्तानलाई अलग्याउन सफल हुने उसको बुझाइ छ । सार्कका सदस्य मात्र रहेका अफगानिस्तान र मालद्वीपलाई पनि उसले आमन्त्रण गरेको छैन । यद्यपि मोदीले आफ्नो दोस्रो कार्यकालको पहिलो विदेशयात्रा मालदिभ्सबाट शुरु गर्दैछन् ।

यसो गर्दा बिमस्टेकका सदस्यलाई मात्र दिने र सार्कलाई नबोलाएर कूटनीतिक बठ्याइँ गरेको देखिएको छ । सार्कका सदस्य अफगानिस्तान र मालद्वीपसँग भारतको असल सम्बन्ध रहेको छ । भारतले सार्कभन्दा बिमस्टेकलाई प्राथमिकता दिन खोजेको देखिन्छ । पाकिस्तानमा हुनुपर्ने सार्क सम्मेलन भारतकै कारण हुन सकेको छैन । उरीमा भएको आक्रमणलाई लिएर भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागी नहुने बताएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us