सबैलाई अध्यक्ष र केन्द्रीय सदस्य नै चाहिएको छः प्रचण्ड

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – नेपाल कम्यिुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई पद चाहिएकै कारण पार्टी एकतामा गतिरोध आएको बताएका छन् ।

प्रेस संगठन नेपालले पेरिसडाँडामा आयोजना गरेको १७ औं कृष्ण सेन स्मृति दिवस– २०७६ पुरस्कार वितरण समारोहमा अध्यक्ष प्रचण्डले सबैलाई अध्यक्ष, पोलिटब्यूरो, केन्द्रीय सदस्य नै चाहिएकाले पार्टी एकतामा ढिलाइ भएको बताए ।

‘यतिबेला हामीलाई साथीहरूलाई म्यानेज गर्न बढो गाह्रो भएको बेला छ’, उनले भने, ‘यति धेरै आकांक्षीहरू हामी भएका छौं । सबैलाई केन्द्रीय समिति चाहिने, सबैलाई पोलिटव्यूरो नै चाहिने, सबैलाई स्थायी समिति चाहिने, सबैलाई अध्यक्ष नै चहिने भन्ने जस्तो भएको छ ।’

एकताका क्रममा पार्टीमा पदका लागि महत्वाकांक्षी धेरै भएकाले समस्या आइरहेको उनको भनाइ छ । नयाँ सोचका साथ पार्टी एकता गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डल भने, ‘विनाविचार पार्टी एकता गरिएको छैन । प्रष्ट वैचारिक मान्यता, सैद्धान्तिक निष्ठा र राजनैतिक कार्यदिशाको एउटा ओरिन्टेशनसहित पार्टी एकता भएको हो ।’

विचारविहीन र पुरानो विचार अनुसार नै पार्टी एकता भएको हो भन्ने कसैको बुझाइ छ भने त्यो एकताको स्प्रिडअनुसार नभएको उनले बताए । पार्टी एकताका क्रममा कोही फिट हुन सकेन भने त्यो पार्टीको नभइ व्यक्तिको समस्या भएको उनको भनाइ छ । एकतालाई जनताले अनुमोदन गरी सकेकाले अब पार्टी एकताबाट पछि हट्न नसकिने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘अब हामीमध्ये कसैलाई त्यसले कम्र्फटेबल फिल भएको छैन भने त्यो हाम्रो, हामी मध्ये कसैको प्रोब्लेम हो त्यो पार्टीको प्रोब्लेनम होइन, जनताको प्रोब्लेम होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us