शारदा ब्यारेजमा चारपांग्रे सवारी साधन चलाउन रोक

काठमाण्डु टुडे २०८२ असार १५ गते ८:०३ मा प्रकाशित

कञ्चनपुर, १५ असार– महाकाली नदीमा पानीको बहाव असामान्य रूपले बढेपछि शारदा ब्यारेजबाट चारपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण नदीको सतह उच्च भएपछि सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहरा अनुसार शनिबार महाकाली नदीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि सावधानी स्वरूप ब्यारेज भएर गाडी चलाउन बन्द गरिएको हो ।

नदीको बहाव एक लाख क्युसेक नाघेपछि सवारी आवागमन बन्द गर्नुपर्ने मापदण्ड अनुसार उक्त निर्णय गरिएको बोहराले बताए ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशका थुप्रै क्षेत्रमा आगामी केही दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना रहेको भन्दै सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।

असार १६ गतेसम्म जोखिम कायमै रहन सक्ने भएकाले नदी किनारका बस्तीहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।

स्थानीय प्रशासनले गाडी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र नदी नजिकका क्षेत्रमा नजान आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us