
काठमाण्डु, १३ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जन सरकार र जनसेना बनाएको खुलासा गरेका छन् ।
आइतवार काठमाण्डुमा भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा जानकारी दिँदै गृहमन्त्री बादलले विप्लव समूहले संविधान र शान्ति विरोधी गतिविधि गर्दै आएका बताए ।
‘विप्लवले जन सरकार गठन गरिसकेका छन् । जनसेनाका ४ कम्पनी खडा गरेका छन्’, गृहमन्त्री थापाले भने ।
गृहमन्त्री थापाले देशव्यापी भ्रष्टाचारको विरोधमा भन्दै एनसेल टावर र विभिन्न ठाउँमा विप्लवले ध्वंश मच्चाएको उनले बताए । ‘उनीहरूको मूल निशाना उपत्यका बनेको छ। हिजो पनि उपत्यकामा ठाउँठाउँमा विस्फोट भए’, उनले भने, ‘हिजो मात्रै जनाको मृत्यु भयो, दर्जनौँ घाइते भएका छन् ।’
काठमाण्डुमा आइतवार भएका घटनामा ज्यान गुमाएकाहरुको नागरिकता नभएकाले उनीहरु विप्लव समूहका नै भएको दाबी थापाले गरे । घाइतेहरु पनि विप्लव समूहकै रहेका उनले बताए ।
विप्लव समूहलाई राजनीतिका मूल धारमा ल्याउन सरकारले वार्ताको प्रक्रिया अगाडि बढाएको गृहमन्त्रीले बताए ।
उनले भने, ‘विप्लव समूहका क्रियाकलापलाई राज्यले नियन्त्रण गनेए र सरकारले वार्ताबाट राजनीतिक मूल धारमा ल्याउने तयारीमा छौं । यो समूहलाई मूलधारमा ल्याउन हामी प्रतिबद्ध छौं ।’