कुलमानले मोदीमाथि लगाएको आक्षेप झुठो !

काठमाण्डु टुडे २०७६ जेठ १० गते १:५४ मा प्रकाशित

विराटनगर, १० जेठ– उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले नेपाल विद्युत प्राधिकरणले सुनसरीको दुहबीबाट मोरङको विराटनगरतर्फ प्रसारण लाइन विस्तारका क्रममा स्थानीयले गरेको अवरोध हटाउने सर्तमा रकम नमागेको बताएका छन् ।

मंगलबार लेखा समिति बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि मोदीले नीतिगत भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका थिए । मोदीको प्रतिवाद गर्ने क्रममा घिसिङले अनियमितता प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको भन्दै बरु मोदीले लाइन विस्तारको काममा स्थानीयलाई अवरोध गर्न उक्साएर पैसा मागेको प्रतिआरोप लगाएका थिए । घिसिङको आरोपप्रति आफूहरुको ध्यानाकर्षण भएको ती संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रसारण लाइन विस्तारको काममा मोरङ ग्रामथान गाउँपालिकाअन्तर्गत गिदनियामा स्थानीयले अवरोध गरेका थिए । ग्रामथान मोदीको निर्वाचन क्षेत्रमा पर्छ । मोदी नेकपाका तर्फबाट मोरङ–४ बाट निर्वाचित भएका हुन् ।

मोरङ–सुनसरी औद्योगिक करिडोरअन्तर्गत मोरङको कटहरी तथा रंगेली क्षेत्रका उद्योगमा लोडसेडिङ हुन थालेपछि नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउन प्राधिकरणले दुहबी–कटहरी–रंगेली ३३ केभी प्रसारण लाइन विस्तार गर्न लागिएको हो । व्यवसायीको पटकपटकको मागपछि प्राधिकरणले कटहरीमा सव स्टेशन सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । तर, स्थानीयले अवरोध गरेपछि विद्युत प्राधिकरणको सक्रियतामा जिल्ला प्रशासन कार्यालय मोरङमा गत २६ वैशाखमा प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारीको बैठक बसेको र आफूहरुकै आग्रहमा बैठकमा सहभागी भएका मोदीले पैसा नमागेको दाबी विज्ञप्तिमा गरिएको छ । मोदीले बैठकमा स्थानीयसँग अवरोध हटाउन कुरा मिलाउने जिम्मेवारी आफूले लिने तर, त्यसका लागि पाँच लाख चाहिने माग गरेको समाचार बाहिर आएको थियो । तर, विज्ञप्तिमा त्यसको खण्डन गरिएको छ । विज्ञप्तिमा कुलमानले मोदीमाथि लेनदेनसँग जोडेर चरित्र हत्या गर्ने तथा लाञ्छना लगाएकामा आपत्ति प्रकट गरिएको छ । बैठकमा मोदीले पैसा नमागेको बरु, उक्त राष्ट्रिय गौरवको आयोजना सफल पार्न आफ्नो तर्फबाट प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us