
काठमाण्डु, १० जेठ – अपराध महाशाखाले छोरा अपहरण गरेर गोली हानी मारिदिने धम्की दिदैं रकम असुल्न खोज्ने एक प्रेम जोडीलाई पक्राउ गरेको छ ।
महाशाखाले यसरी धम्काउने काम गरेको भन्दै कैलाली, टिकापुर नगरपालिका वडा नम्बर ९ घर भई हाल बालकुमारी ललितपुर बस्ने २४ वर्षिय लोकेन्द्र शाही र उनकी प्रेमिका २० वर्षिय रूबी ठाकुरलाई बिहीबार गौशालाबाट पक्राउ गरिएको हो । ठाकुर र शाहीको स्थायी ठेगाना एउटै हो ।
अपराध महाशाखा प्रमुख सहकुल बहादुर थापाका अनुसार उनीहरूले सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भइ हाल काठमाण्डु महानगरपालिका वडा नम्बर १० बुद्धनगर बस्ने ४२ वर्षिय सिताराम कार्कीलाई एसएमएस मार्फत धम्की दिने गरेका थिए ।
प्रेमिका रूबी ठाकुरको योजना अनुसार शाहीले एसएमएस मार्फत धम्काउने गरेको उनले बताएका छन् ।
उनीहरूलाई धम्काउन प्रयोग गरेको मोबाइल सेट र सिम सहित पक्राउ गरेको थापाले बताए ।थापाका अनुसार पीडित कार्की र पीडक ठाकुरबीच पहिलेदेखि नै चिनाजानी रहेको र घटना घट्ने अवस्थासम्म कसरी पुग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।