मागे जति दाइजो नपाएपछि छाेरीको हत्या !

काठमाण्डु टुडे २०७६ जेठ १० गते ११:०६ मा प्रकाशित

बाँके, १० जेठ – बाँकेमा मागे जति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको बताइएको छ ।

अघिल्लो वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएकी नीराको माइती पक्षले हत्या भएको दावी गरेको छ ।

नेपालगञ्जमा शुक्रबार माइती पक्षले पत्रकार सम्मेलन गरी विवाहपछि राममनोहरले दाइजो नदिएको भन्दै पटकपटक कुटपिट गर्ने गरेको र दाइजो नपाएकै कारण हत्या भएको दावी गरेको हो । नीराका बुबा राधेश्याम कुर्मीका अनुसार दाइजो नल्याएको भन्दै राममनोहर र उनका परिवारले पटकपटक कुटपिट गर्दै आएको नीराले माइतीमा बताउँदै आएकी थिइन् ।

मरणासन्न हुनेगरी कुटपिट भएपछि नीरा गएको माघ १ गते भेरी अस्पतालमा भर्नासमेत भएकी थिइन् । विवाहमा सात लाख रुपैयाँ खर्च गरेका माइती पक्षले छोरीमाथिको अन्याय सहन नसकेर गएको वैशाखमा फेरि १ लाख बराबरको सोफा, दराजलगायतका सामग्री राममनोहरलाई दिएको नीराका बुवा राधेश्यामले बताए ।

त्यसपछि पनि मोटरसाइकल नदिएको भन्दै राममनोहरले पटकपटक कुटपिट गरेका परिवारको भनाइ छ । बारम्बार कुटपिट हुन थालेपछि न्याय माग्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलमा उजुरी दिएपछि आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै माफी मागेर नीरालाई घर लगेका थिए । तर यही जेठ २ गते दिउँसो नीरा झुण्डिएको अवस्थामा फेला परेपछि माइती पक्षले आत्महत्या नभइ हत्या भएको दावी गरेको हो ।

‘आत्महत्या होइन, घर परिवारले मिलेर हत्या गरेको हो’, नीराका बुबा राधेश्यामले भने, ‘मेरो छोरीको हत्या गर्ने परिवारलाई कडा कारबाही हुनुपर्छ ।’

आत्महत्या हो वा होइन भन्ने विषयमा प्रहरीले अनुसन्धानका लागि नीराका श्रीमान् राममनोहरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us