राजनीतिमा थकाई भन्ने हुँदैन, पुनः एमाले परिवारमा समाहित भएको छुः विद्या भण्डारी

काठमाण्डु टुडे २०८२ असार १४ गते १७:२६ मा प्रकाशित

काठमाण्डू, १४ असार– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन् ।

पति एवं तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४औं जन्मदिनका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा भण्डारीले राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएलगत्तै पार्टी सदस्यता नवीकरण गरेको बताइन् ।

भण्डारीले पति मदन भण्डारीको ‘राजनीतिमा थकाई भन्ने चिज हुँदैन’ भन्ने भनाइलाइ आदर्श मानेर आफू अघि बढेको बताइन् ।

‘जननेताले भन्नुभएको थियो, ‘राजनीतमि थकाइ भन्ने चिज छैन’, व्यवहारतः उहाँका यो भनाइलाई आदर्श मानेर अघि बढेको छु’, भण्डारीले भनिन्, ‘एमालेमै रहेर राजनीतिक जीवनलाई निरन्तरता दिने उद्धेश्यले नै मैले पार्टी सदस्यता नवीकरण गरेको थिएँ । अब म नेकपा एमाले परिवारको सदस्यका रुपमा पुनः जोडिएको छु । र यसमा गर्व गर्दछु ।’

उनले मदन भण्डारीको आदर्श र जनताको सेवाभन्दा बाहेक आफ्नो कुनै महत्वकांक्षा नरहेको दाबी गरिन् । ‘मेरो कुनै व्यक्तिगत महात्वाकांक्षा छैन । आजको दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतार चढावले धेरै कुरा सिकाएको छ र परिपक्व पनि बनाएको छ । समयको पदचापलाई रामोसँग बुझेर त्यसमा अग्रसर रहनुपर्छ । सधैं झैं मैले माया पाइनै रहनेछु । जबजको मार्गदशर्नमा सामाजिक उत्तरदायित्व बाँकी नै रहेको छ । यस्तो महत्वपूर्ण दात्विय निर्वाह गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वाससमेत मैले लिएको छु’, उनले भनिन् ।

राष्ट्रपतिको भूमिकाबाट बिदा भएपछि आफूले देशका विभिन्न स्थानमा पुगेर र घरमै पनि एमालेजनसँग कुराकानी गरेको तथा आफ्नोबारे सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीका आधारमा राजनीतिमा फर्कने निधो गरेको उनको भनाइ थियो ।

बोल्ने क्रममा भदन भण्डारी सम्झिएर उनी पटकपटक भक्कानिएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us