चितवन, ९ जेठ – चितवनको रत्ननगर उद्योग वाणिज्य संघ अध्यक्ष राजाराम रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङमा रहेको ढाटमा भएको आगजनी तथा तोडफेडमा संलग्न भएको आरोपमा रेग्मीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीको फरार सूचिमा रहेका रेग्मीलाई बुधबार साँझ जिल्ला प्रशासन कार्यालय परिसरबाटै नियन्त्रणमा लिईएको प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । यसअघि पक्राउ गरेका रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरीसहित तीन जनालाई भने मंगलवार धरौटीमा छाडिएको छ ।
पूर्वी चितवनका स्थानियले दैनिक धेरैपल्ट आवतजावत गर्ने बाटोमा सडक दस्तुर संकलन गर्ने ढाट राखिँदा पटक-पटक कर तिर्नुपर्ने र अनावश्यक दुख पाईरहेको भन्दै ढाट सार्न माग गर्दै गत जेठ ३ गत्ते विरोध गरेका थिए । एक समुहले ढाटमा पेट्रोल छर्केर आगजानी प्रयास गरेका थिए ।
सो क्रममा डिउटीमा रहेकी प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भिर घाइते भएकी छिन् । उनको अहिले भरतपुरमा उपचार भइरहेको छ।