भारतीय लोकसभा चुनावः बीजेपी अग्र स्थानमा, राहुल गान्धी पछि परे

काठमाण्डु टुडे २०७६ जेठ ९ गते ९:४९ मा प्रकाशित

नयाँदिल्ली, ९ जेठ – भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी)अगाडि देखिएको छ ।

सुरुवाति रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानी अगाडि रहेकी छिन् । अमेठीमा इरानी राहुलभन्दा २ हजार मतले अगाडि रहेकी छिन् । राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन् । वायनाडबाट भने राहुल गान्धी ५ हजारभन्दा बढी मतले अगाडि रहेका छन् ।

त्यस्तै बिहारको बेगुसरायमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह अगाडि रहेका छन् । बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमार गिरिराज सिंहसँग प्रतिस्पर्धामा रहेका छन् । साथै राष्ट्रिय जनता दलबाट तनवीर हसन पनि यसै सिटबाट प्रतिस्पर्धामा रहेका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए ।

यो सुरुवाति मतपरिणाम भएकाले यसै हुन्छ भन्ने सकिने अवस्था चाहिँ छैन । थोरै मात्रै मत गनिएकाले मतपरिणाम कसको पक्षमा जान्छ भन्ने जान्नका लागि केही समय कुर्नुपर्ने अवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us