
काठमाण्डु, ९ जेठ– नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उदघोष गरेपछि विवादमा आएका अमेरिकी राजदूत -याण्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ ।
परराष्ट्रसचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूत बेरीसँग करिब आधा घण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रमलगायत विषयमा जिज्ञाशा राखेका थिए । सचिव बैरागीले राजदूत बेरीसँग मन्त्रालयमा भेटवार्ता भएको पुष्टि गरे पनि कुराकानीबारे बताउन चाहेनन् । कुराकानी नेपाल–अमेरिका द्विपक्षीय हितबारे केन्द्रित रहेको प्रतिक्रिया मात्र दिए । राजदूत बेरीको फेसबुक भिडियो सन्देश बाहिरिएलगत्तै सचिव बैरागीले यसरी स्वेच्छाले एउटा कुटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए । परराष्ट्र स्रोतका अनुसार बेरीले नेपाल र नेपाली जनतासँग अमेरिकी सरकार जोडिएको ७२ वर्ष भइसकेको भन्दै कूटनीतिको एउटा अंगका रुपमा आपसी संवाद र परामर्श जारी रहेको सचिव बैरागीलाई स्पष्ट पारेका थिए ।
उनले ‘राजदूतसँग गफगाफ’ अहिलेसम्म जारी रहेका अमेरिकी सहयोगका कार्यक्रम तथा अमेरिकी शासन प्रणाली, शिक्षा र पद्धतिमाथि सर्वसाधारणका सरोकारबारे एकमुष्ट जानकारी दिने ‘प्लेटफर्म’ मात्र रहेको भन्दै यसलाई अन्यथा रुपमा नलिन आग्रह गरेका थिए । कान्तिपुर दैनिकबाट