३ महिना जेल सजाय पाएकी मोडल खुश्बु ओली अदालत जाने

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १७:०५ मा प्रकाशित

काठमाण्डु, ८ जेठ – मोडल तथा समाजसेवी खुश्बु ओलीले आफु र गोपाल कटुवालबीचको आर्थिक लेनदेन दुई वर्षअघि नै मिलिसकेको भन्दै अदालतको पछिल्लो फैसलाप्रति आश्चर्य व्यक्त गरेकी छन् ।


ओलीलाई जिल्ला अदालत काठमाण्डुले दोषी ठहर गर्दै ३ महिना कैद, ३ हजार जरिवानाको फैसला गरेको थियो । मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम साँवा र ब्याजसहित तिर्नुपर्ने ठहर फैसला गरेको हो ।

ओलीले काटेको ३६ लाख रुपैयाँ बराबरको कुमारी बैंकको चेक बाउन्स भएको भन्दै सप्तरीका गोपाल कटुवालले एक बर्षअघि मुद्दा दायर गरेका थिए ।

तर, अदालतको फैसला आएको भोलिपल्ट खुश्वुले प्रेस रिलिज जारी गर्दै गोपाल कुटुवाललाई आफुले दिएको चेक नसाटिएपछि तत्काल बैंकमा पुगेर हिसावकितव र फरफारक गरेको दावी गरेकी छिन् ।

‘गोपाल कटुवालले रकम पाइसकेपछि कसरी अदालतमा मुद्दा दायर गरेका हुन् म अदालत गएर हेर्छु । आजभन्दा एक वर्षअघि दायर मुद्दाबारे मलाई कुनैपनि जानकारी छैन र यसका लागि म कानुनी बाटोमा जान्छु । सत्यको जित हुन्छ,’ ओलीले जारी विज्ञप्तिमा भनेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us