
नवलपरासी, ८ जेठ – नवलपरासी देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ । त्यहाँ मानवीय क्षति भने छैन । हुरीसँगै असिनापानी परेको थियो ।
देवचुलीका मेयर पूर्णकुमार श्रेष्ठले टेलिफोनमा दिएको जानकारी अनुसार मंगलबार राति ८ बजेबाट सुरु भएको हावाहुरी र असिनाले त्यहाँका २ सय घरको छानो उडाएको प्रारम्भिक अनुमान छ । देवचुली नगरपालिकाको ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो ।
यहाँ हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्याएको यो पहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न मेयर सहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।
२ मिनेट मात्र आएको हावाहुरीले व्यापक क्षति पुगेको छ । २ दर्जन भन्दा बढी घरहरु बस्नै नमिल्ने भएको छ । सितावास र मुण्डे क्षेत्र बढी प्रभावित छ ।
सितावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल ढलेर बाटो अवरुद्ध रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष खीमानन्द भुसालले जानकारी दिए । प्रभावित क्षेत्रमा प्रहरी, रेडक्रसकर्मी र स्थानीय उद्दारमा खटेका छन् ।