सगरमाथाको उचाइ नाप्ने टोली चुचुरोमा पुग्यो, कहिले आउँछ नतिजा ?

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १०:२० मा प्रकाशित

काठमाण्डु, ८ जेठ – विश्वको सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ नाप्ने नेपाल सरकारको टोली बुधवार बिहान चुचुरोमा पुगेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको ५ सदस्यीय टोली बिहान सवा ३ बजे सगरमाथाको चुचुरोमा पुगेको हो ।

प्रमुख नापी अधिकृत गौतम, नापी अधिकृत रवीन कार्की र अन्य तीन सहयोगीले आधा घण्टासम्म सगरमाथा शिखरमा बसेर स्याटेलाइटबाट आएका संकेतहरु रेकर्ड गरेको छ । सामान्यतः १५ मिनेट गर्दा पुग्ने ‘अब्जरभेसन’ आधा घण्टासम्म शिखरमै बसेर गरिएको हो ।

विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका छन् ।

‘सगरमाथाको उचाइ नाप्न एउटा महत्वपूर्ण काममा सफलता मिलेको छ,’ ढकालले भने,‘डाटा संकलन गरेर टोली अहिले बेस क्याम्पतिर फर्किरहेको छ ।

प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुगेका हुन् । सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले बेस क्याम्पमा बसेर डाटा संकलनमा सहयोग गरेका छन् ।

चुचुरोमा जाने टोलीले आफूसँग एउटा मेसिन पनि लिएका थिए । ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभर (जिएनएसएस) नामको उक्त मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरू संकलन गरेको छ ।

सगरमाथा मापनका लागि अमेरिकाको ट्रिम्बल कम्पनीले विशेष खालको जिएनएसएस रिसिभर सहयोग स्वरूप दिएको प्रवक्ता ढकालले जानकारी दिए ।

सगरमाथामा तापक्रम र आद्रता र गुरूत्वाकर्षणजस्ता मौसमी तथ्यांक पनि संकलन गरिएको छ ।

विभागले आउँदो मंसिरसम्म सगरमाथाको उचाइ सार्वजनिक गर्ने योजना बनाएको छ । त्यसका लागि उसले समुन्द्र सतहदेखि उचाइ नाप्ने विधि पनि सुरू गरेको छ । त्यसअनुसार सिरहाको मडारदेखि सोलुखुम्बुको पतालेसम्मको मापन सकिएको छ ।

त्रिकोणमतीय समतुलन भनिने यही विधिबाट सगरमाथामा चुचुरोमा पुग्न असम्भव भएकाले जिएनएसएस रिसिभर लिएर टुप्पोमा गइएको हो ।

आफ्नै देशमा पर्ने विश्वको सर्वोच्च शिखरको उचाइ विदेशीको मापनमा आधारित थिए । सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ समुन्द्र सतहदेखि ८ हजार ८ सय ४८ मिटर भएको बताएको थियो । सन् १९९९मा अमेरिकी टोलीले सगरमाथा उचाइ बढेर ८ हजार ८ सय ५० मिटर पुगेको देखाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us