पाँचथर हत्या काण्डबारे कांग्रेसले मुख खोल्यो

काठमाण्डु टुडे २०७६ जेठ ७ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, ७ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथर मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा दुइटा परिवारका ९ जनाको हत्या गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले मंगरबारको प्रतिनिधिसभा बैठकमा सोमबार राति अज्ञात समूहले ९ जनाको हत्या गरेको भन्दै सरकारले हत्याराको पहिचान गरी छिटो कारबाही गर्नु पर्ने बताइन् ।

‘अपराधीलाई कारबाहीको दायरामा ल्याइयोस्,’ उनले भनिन्, ‘घाइते १२ वर्षीया सीता खाजुमको उपचारमा सरकारले ध्यान देओस् ।’

अज्ञात समूहले ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो ।

यस्तै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आन्दोलनरत नर्सको मागलाई पूरा गर्न सरकारले गम्भीरतापूर्वक लिनु पर्ने, अस्थायी र राहत शिक्षकको माग पूरा गर्न माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us