सार्वजनिक बसमा हुने महिला हिंसा रोक्न विशेष प्रहरी टोली परिचालन

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, ६ जेठ – सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो ।

file photo

काव्य विद्यालय–प्रहरी समन्वय समिति, महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वर तथा बानेश्वर सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सो स्थानमा अगामी दिन थप प्रहरी परिचालन गरिने जानकारी दिए ।

उनले पछिल्लो समय सामाजिक सञ्जालका कारण उत्पन्न साइबर अपराध नियन्त्रण गर्न प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘साइबर ब्युरो’ स्थापना भएको जानकारी दिँदै सो ब्युरोले अपराध नियन्त्रणमा प्रभावकारी कामसमेत गरेको जिकिर गरे । पछिल्लो समयमा साइबर अपराधमा किशोरकिशोरी र युवायुवतीको बढी संलग्नता देखिएको उल्लेख गर्दै उनले कम उमेरका आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालबाट टाढा राख्न अभिभावकलाई सुझाव दिए ।

प्रहरी नायब महानिरीक्षक थापाले काव्य विद्यालयका प्राचार्य नवराज बास्कोटालाई प्रशंसापत्र प्रदान गरेका थिए । नयाँ बानेश्वर प्रहरीवृत्तका प्रमुख प्रहरीनायब उपरीक्षक गोविन्दराज काफ्लेले साइबर अपराध, लागुपदार्थ दुव्र्यसन अन्त्य, सडक सुरक्षाका लागि समुदाय सचेत भई अगाडि बढ्नुपर्ने बताए । पछिल्लो समय शान्तिसुरक्षा, बालबालिकाको आधारभूत सुरक्षा तथा जानकारीका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम तीव्ररुपमा सञ्चालन भइराखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us